मनोज दाहाल –
नेपाली सिने जगतको सबैभन्दा प्रतिष्ठित सम्मान मानिने राष्ट्रिय चलचित्र पुरस्कार २०७९ का विजेताहरूको घोषणा भव्य समारोहका बीच गरिएको छ। नेपाली चलचित्रको सशक्त उन्नयन र योगदानलाई समेट्नेगरी घोषणा गरिएका यी पुरस्कारहरूले सिने नगरीको चर्चा फेरि एकपटक उत्कर्षमा पुर्याएका छन्।
यस वर्ष ‘शाम्बाला’ चलचित्रले उत्कृष्ट चलचित्रको ताज पहिरिन सफल भयो भने यही चलचित्रका निर्देशक मीनबहादुर भाम उत्कृष्ट निर्देशनको श्रेणीमा विजयी बने। समाज र मानव संवेदनालाई प्रखर कलात्मकतामा ढालेको ‘शाम्बाला’ले समीक्षात्मक रूपमा पनि उच्च प्रशंसा पाएको थियो।
अभिनयतर्फ, ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत विजय बराल उत्कृष्ट अभिनेता घोषित भए। चलचित्रले ऐतिहासिक व्यापार गर्न सफल भएको थियो भने अभिनेता विजय बरालको चर्चा सिनेनगरीमा निकै आकाशिएको थियो । उता, ‘खुस्मा’ मार्फत आत्मीय अभिनय प्रस्तुत गरेकी उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेत्रीको रुपमा चयन भइन्।
अन्य विजेताहरूमा:
• उत्कृष्ट सम्पादक : भरत रेग्मी (पुजार सार्की)
• उत्कृष्ट छायाकार : पुरुषोत्तम प्रधान (पिताम्बर)
• उत्कृष्ट लेखन : दीपकराज गिरी (छक्का पञ्जा ५)
• उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र : गालय् वन (नेपाल भाषा)
निर्णायक समितिद्वारा प्रोत्साहन पुरस्कार
नेपाली चलचित्रका लोकप्रिय नायक प्रदीप खड्कालाई दिइयो । चलचित्र ‘पुजार सार्की’ मा प्रस्तुत उत्कृष्ट भूमिकाको लागि निर्णायक समितिद्वारा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो। सामाजिक यथार्थमा आधारित यो चलचित्रमा उनले जातीय विभेद र वर्गीय सङ्घर्षसँग जुझिरहेको पात्रलाई गहिरो अनुभूति र आत्मीयतासाथ चित्रण गरेका छन्।
प्रदीप खड्का विगत केही वर्षदेखि व्यावसायिक सफलतासँगै कलात्मक परिपक्वताको यात्रामा अग्रसर देखिएका छन्। ‘प्रेमगीत’बाट स्टारडममा पुगेका उनले पछिल्ला चलचित्रहरूमा अभिनयको विविधता प्रस्तुत गर्दै, आफूलाई मात्र रोमान्टिक हिरोको साँघुरो परिधिभित्र सीमित नराख्ने प्रयास गरेका छन्।
‘पुजार सार्की’ मा उनको भूमिका केवल प्रेमिल चरित्र नभई सामाजिक सन्देश बोकेको, आवाज विहीन समुदायको प्रतिनिधित्व गर्ने जीवन्त पात्र हो। यो भूमिकामार्फत उनले नेपाली चलचित्रको कथावस्तु र अभिनयमा नयाँपन ल्याउने कोसिस गरेकामा निर्णायक समितिले उनको साहसी कलात्मक पहिचानलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता देख्दै उनलाई सम्मानित गरेको हो।
यस पुरस्कारलाई “स्टार छविमा गम्भीर कलाकारको मूल्याङ्कन” को रूपमा पनि हेरिएको छ, जहाँ सुपरस्टारहरू पनि समर्पण र सामाजिक सरोकारमा आधारित भूमिकाका लागि प्रोत्साहित गरिनुपर्ने माग पूरा भएको देखिन्छ।
विशेष योगदान सम्मान
चलचित्रको विविध विधामा समर्पित व्यक्तित्वहरूलाई यसपटक विशेष योगदान सम्मान दिइयो, जसमा यी स्रष्टाहरू समावेश छन्:
• प्रेम सुब्बा (कलाकार)
• देविका वन्दना (गायिका)
• दीर्घ गुरुङ (छायाकार)
• अनुप बराल (कलाकार/निर्देशक)
• परशुराम चौधरी (कलाकार/निर्देशक)
• सुरक्षा पन्त (कलाकार)
• नकिम उद्दिन (प्रदर्शक)
• उत्तम केसी (कलाकार)
• अन्जु रञ्जितकार (कलाकार)
• निखिल उप्रेती (कलाकार/निर्देशक)
विशेष चलचित्र पुरस्कार
• चे (लिम्बु भाषा)
• दिलसरा (मगर भाषा)
मरणोपरान्त विशेष योगदान सम्मान
श्रवण मास्के, जो वि.सं. २०४६ मा चलचित्र ‘चिनो’को छायांकनको क्रममा निधन भएका थिए, उनलाई प्राविधिक (प्रकाश व्यवस्थापक) का रुपमा मरणोपरान्त सम्मान प्रदान गरियो।
चलचित्र दीर्घ साधना सम्मान
नेपाली चलचित्र क्षेत्रमा झन्डै पाँच दशकदेखि निरन्तर योगदान दिँदै आएका वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई यस वर्षको ‘चलचित्र दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ। उनलाई नगद ३ लाख ७५ हजार रूपैयाँसहित विशेष सम्मान गरिने घोषणा गरिएको हो।
लक्ष्मीनाथ शर्मा नेपाली चलचित्र इतिहासका सङ्क्रमणकालीन सर्जक मानिन्छन्, जसले रुपावलीदेखि डिजिटल युगसम्मको यात्रा आफ्नै आँखाले देखे, भोगे र सिनेमा बनाउँदै अघि बढे। उनका चलचित्रहरूमा नेपाली समाजको मौलिक कथा, पारिवारिक सम्बन्धको गहिरो चित्रण, र सामाजिक सन्देशको सशक्त प्रस्तुति पाइन्छ।
शर्माले आफ्नो करिअरको प्रारम्भकालमै आफूलाई सशक्त निर्देशन शैली, अनुशासन, र सरल यथार्थवादी दृष्टिकोणबाट परिचित गराएका थिए। उनले बनाएका चलचित्रहरू केवल मनोरञ्जनका साधन थिएनन्, ती समाजलाई ऐना देखाउने कलात्मक अभिव्यक्ति पनि थिए।
उनी निर्देशक मात्र नभई पटकथा लेखक, संवादकार, अभिनय निर्देशनकर्ता र नेपाली सिने संस्कृतिका जीवित अभिलेख पनि हुन्।
चलचित्र ‘बदलिँदो आकाश’, ‘शानिदीप’, ‘मिलन’, ‘सारङ्गी’, ‘छोरी बुहारी’, ‘साथी’, ‘बरपीपल’, ‘भाइटीका’ लगायत धेरै चलचित्र हरूमार्फत उनले नयाँ प्रवृत्तिका निर्देशकहरूलाई समेत प्रेरणा दिए ।
उनको यथार्थवादी सोच, सिनेमालाई देशको माटो र जनताको कथासँग जोड्ने दृष्टिकोणले आजका निर्देशक र कलाकारहरूलाई सिनेमा समाजसँग जोड्ने बाटो देखाएको छ।
लक्ष्मीनाथ शर्मालाई दिइएको ‘दीर्घ साधना सम्मान’ केवल व्यक्तिगत उपलब्धिको कदर होइन, यो नेपाली सिने इतिहासका ती थुप्रै मौन योगदानहरूको समष्टिगत सम्मान हो, जुन बजारको चमकभन्दा बाहिर बसेर चलचित्र बनाउने सपना देख्थे र पूरा गर्थे।
आजको पुस्ताले स्मार्ट क्यामेरा र डिजिटल प्रविधिमा फिल्म बनाउँदा, शर्मा जस्ता सर्जकहरूले १६ मिमी क्यामेरा, रील, डबिङ र टेप–काटेर सिनेमा बनाउने युग पार गरेका थिए। यस्तो युगका स्रष्टालाई सम्मान गर्नु इतिहासलाई सम्झनु मात्र होइन, भविष्यलाई सही मार्ग देखाउनु समेत मानिएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कार’ को घोषणा सँगै नेपाली चलचित्र क्षेत्रमा एकातर्फ उत्साह र बधाईको लहर छ भने अर्कोतर्फ यदाकदा असन्तुष्टि पनि देखिएको छ । कतिपयले मनमै राखेको असन्तुष्टिलाई कतिपयले भने सामाजिक सञ्जालमा पोखेका छन् । यो सम्मान अभिनेत्री वर्षा सिवाकोटीलाई चित्त बुझेन । उनले सामाजिक सञ्जालमार्फत पोखेको पीडामा सिर्जनशील महिलाहरूको योगदानलाई निरन्तर नजरअन्दाज गरिँदै आएको आक्रोश देखिन्छ ।
‘पुरस्कार पुरुषको लागि मात्रै?’ अभिनेत्री सिवाकोटीको प्रश्न छ ।
उनले लेखेकी छिन् :
‘लौ नायक ज्यूहरूलाई मात्रै प्रोत्साहन गर्नुस्, हामी महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने?’
कतिपय कलाकर्मीहरुले उनको प्रश्नलाई आफुले पुरस्कार नपाउदाको आक्रोशका रुपमा समेत व्याख्या गरेका छन् ।
उनको प्रश्नलाई कतिपयले भने केवल व्यक्तिगत नभई नेपाली चलचित्रमा महिलाको पहिचान र सम्मानको प्रश्न पनि मानेका छन् । प्रोत्साहन पुरस्कारजस्ता सान्दर्भिक अवसरहरूमा महिला कलाकारहरू ओझेलमा परिरहेका छन् भन्ने विषयलाई अभिनेत्री सिवाकोटीको असन्तुष्टिले छर्लङ्ग बनाएको छ ।
चलचित्रमा महिलाको उपस्थितिः सङ्ख्यामा होइन, गुणस्तरमा पनि प्रभावशाली
नेपाली चलचित्रमा पछिल्ला वर्षहरूमा महिला पात्रहरू केन्द्रीय विषय बनेका थुप्रै उदाहरण छन्। वर्षा सिवाकोटी स्वयम्ले अभिनय गरेका चलचित्र ‘पशुपति प्रसाद’, ‘परदेशी-२’, ‘छक्कापञ्जा ५’ जस्ता सफल चलचित्रहरूमा मूल महिला पात्रको जिम्मेवारी लिएकी छिन्।
यता अन्य अभिनेत्रीहरु सुरक्षा पन्त, स्वस्तिमा खड्का, मेनुका प्रधान, केकी अधिकारी, दीया मास्के, मिरुना मगर, अन्जना बराइली, आँचल शर्मालगायतका अभिनेत्रीहरूले पनि चुनौतीपूर्ण र सशक्त भूमिका निर्वाह गर्दै आइरहेका छन् । तर, चलचित्र सफल बनिरहदा जति चर्चा पुरुष पात्रको हुन्छ त्यति महिला पात्रको भने भएको पाइदैन ।
त्यसको ज्वलन्त उदाहरण हो, सर्वाधिक सफल चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ । यस चलचित्रमा विजय बराल सङ्गै अभिनेत्री अन्जना बराइलीले पनि सशक्त भूमिका निर्वाह गरेकी छन् । तर, अन्ततः चलचित्र सफलताको श्रेय जति बिजय बरालले प्राप्त गरे त्यतिनै छाँयामा परिन् अभिनेत्री बराइली ।
चलचित्र नगरीमा यस्ता सशक्त भूमिकामा अभिनय गर्ने महिलाहरूलाई पुरस्कारभन्दा बढी ‘ग्ल्यामरको आवरण’ मा सीमित गरिँदै आएको आरोप वर्षाले उठाएकी छिन्।
संस्थागत सोचमा परिवर्तनको आवश्यकता
प्रोत्साहन पुरस्कार वा विशिष्ट योगदान सम्मानजस्ता विधामा पुरुष कलाकारहरूलाई दोहोरिएर पुरस्कृत गरिँदा, महिलाहरू निरन्तर उपेक्षा भइरहेजस्तो देखिन्छ। यस्तो प्रवृत्तिले भविष्यका कलाकारमा निराशा र आक्रोश पैदा गरिरहेको छ।
नेपाली चलचित्र उद्योग दिनदिनै परिपक्व बन्दै गएको छ। यसरी हरेक विधालाई समेट्ने पुरस्कारहरूले कलाकार, प्राविधिक, निर्देशक, लेखक सबैलाई थप प्रेरणा दिएको छ। यद्यपि महिलाको समान सहभागिता र पहिचान अझै खोजीको विषय छ। पुरस्कार मात्र हैन, मान्यताको सन्तुलन पनि आवश्यक छ भन्ने कुरा वर्षा सिवाकोटीको अभिव्यक्तिले झल्काएको छ।
यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कार समारोहले एकातर्फ उत्सवको माहोल सिर्जना गर्यो भने अर्कातर्फ, भित्रभित्रै गुनासो र असन्तुष्टिको स्वर पनि सुनिएको छ। यो स्वरलाई सुनेर आगामी दिनमा चलचित्र पुरस्कार अझ समावेशी र न्यायपूर्ण बन्न आवश्यक देखिएको छ ।