मोरङ, ३ असार ः कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले विगत सात वर्षको अवधिमा प्रदेशमा भौतिक पूर्वाधार संरचना निर्माणले फड्को मारेको बताउनु भएको छ ।
प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ कोशीद्वारा आज यहाँ आयोजित ‘सञ्चार माध्यम मार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तर सम्बन्धी बहस कार्यक्रमको उद्घाटन गर्दै उहाँले पहाडी क्षेत्रमा सडक निर्माणले त्यस क्षेत्रका कृषि उत्पादनले तराई तथा सीमावर्ती भारतीय क्षेत्रमा बजारीकरणले कृषकहरुको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको जानकारी गराउनु भयो ।
मन्त्री राईले मागका आधारमा होइन आवश्यक्ताको आधारमा विकास हुनुपर्नेमा जोड दिँदै सञ्चार माध्यमले तराई, पहाड एवं हिमाली क्षेत्रको कृषि लगायतका घरेलु उत्पादनको प्रचार प्रसारमा सहयोग गरी मुलुकको समृद्धिमा एउटा इटा थप्न आग्रह गर्नु भयो ।
उहाँले प्रदेश सरकार रोजगारी सिर्जना र स्थानीय उत्पादनको उचित मूल्य प्राप्त होस उद्देश्यले कार्य गरिरहेको बताउनु भयो ।
महासंघका कोशी अध्यक्ष भरत खड्का,उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ, महासंघ मोरङ अध्यक्ष शुसिला पाठक,विवेक गौतम,बन्धु पोखरेल,मीनकुमार नवोदित, बाबुराम भण्डारी,उद्योगी अनिल साह, होटल व्यवसायी राजन श्रेष्ठ र लिलाबल्लभ घिमिरे लगायतले सात वर्षको अवधिमा प्रदेशमा निर्माण भएका एक हजार किलोमिटर भन्दा वढी कालोपत्रे सडकका कारण रोजगारी र स्थानीय उत्पादनले बजार प्राप्त गर्न सहयोग पुगेको धारणा राखेका छन् ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काले सञ्चार माध्यममार्फत उत्पादन , बजार र पूर्वाधार विकास विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया