ज्यान मुद्दामा अदालतले सफाइ दिएपछि अस्ति जेलबाट छुटेका नेपाली काँग्रेसका नेता अफताब आलमलाई मस्तिष्कघात भएको छ ।

दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका उनको आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । जिउँदो मान्छेलाई इट्टाभट्टामा हालेर मारेको अभियोगमा रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका उनी उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासको आदेशले बुधबार रिहा भएका थिए । नख्खु कारागारबाट छुटेर घर गएका उनलाई आज मष्तिस्कघात भएको हो ।

पहिलो संविधान सभाका बेला २०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा आठ जना घाइते भएका थिए । चुनावमा उम्मेदवार रहेका उनले अपराधबाट बच्न घाइते सबैलाई नजिकैको इँट्टाभट्टामा लगेर जलाएको आरोप छ ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले उनलाई २०७६ असोजमा पक्राउ गरेको थियो । गत वर्ष वैशाख १३ गते जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकेको थियो ।

त्यसपछि उनले थुनाभित्रैबाट उच्च अदालतमा निवेदन दिएकोमा बुधबार उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो ।

तपाईको प्रतिक्रिया