महोत्तरीमा सशस्त्रका प्रहरी नायव निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि यौन दुव्र्यवहारको गम्भीर आरोप लागेको छ । लोहारपट्टी नगरपालिका–४ स्थित सशस्त्र प्रहरी पोष्टमा कार्यरत उनीमाथि स्थानीय १० वर्षीया बालिकालाई यौन दुर्व्यहारको आरोप लागेको हो ।

स्थानीयले बिहान १० बजेदेखि सशस्त्रको पोष्ट घेराउ गरेपछि वातावरण तनावग्रस्त बनेको छ । अहिले पोष्टबाहिर नेपाल प्रहरीका सुरक्षाकर्मीलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नहकुल पोखरेलले जानकारी दिए । उनका अनुसार सशस्त्रका जिल्ला इञ्चार्ज एसपी पुरण चन्द भट्टसँगको समन्वयमा नेपाल प्रहरीका कर्मचारीलाई त्यहाँ खटाइएको हो ।

आरोपित सई सिंहले आज बिहान मर्निङ वाक जाँदा ती बालिकालाई पनि सँगै लगेको र करणीको प्रयास गरेको बुझिएको छ । ‘बालिका र सईको पुरानो चिनजान रहेछ’, एसपी पोख्रेलले जनआस्थासँग भने, ‘सईले बिहान मर्निङ वाक गरिरहेको बेला बाटोमा ती बालिकालाई देखेपछि अघिसम्म जाउँ भन्दै सँगै लगेका रहेछन् ।’

मर्निङ वाककै सिलसिलामा सईले जंगलसम्म पुर्याएर शरीरका गोप्य अंगहरु छोएको र जर्बजस्ती गर्न खोजेको बालिकाको आरोप छ । त्यसपछि बालिका रुँदै घर फर्किएको र बुबासँग सबै कुरा पोखेको एसपी पोख्रेलले जानकारी दिए । ‘ती बालिकाले आफ्नो बुबासँग सबै कुरा भनेपछि आफन्तहरु भेला भएर सशस्त्रको पोस्ट घेराउ गर्न निस्किएका रहेछन्’, उनले थपे ।

अहिले आरोपित सई सिंहलाई सशस्त्रले नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सशस्त्रका एसपी भट्टले ‘हामी आफैँ कारवाही गछौँ’ भनेपछि नेपाल प्रहरीले अनुसन्धानमा कुनै हस्तक्षेप नगरेको एसपी पोख्रेल बताउँछन् । ‘सशस्त्रका एसपी सापले आफैँ अनुसन्धान गरेर कारबाही गर्छौं भन्नुभयो, अहिले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारीमा आएको छ’, उनले अघि भने, ‘हामीले उहाँहरुको पोष्टमा स्थानीयले कुनै घटना ननिम्त्याउन भनेर थप सुरक्षा मात्रै दिएका छौँ ।’

तपाईको प्रतिक्रिया