विराटनगर– प्रेम सम्वन्ध छुटाउन भारतबाट विराटनगर ल्याईएकी १४ वर्षीया चाँदनी यादवको हत्या आरोपमा आमा र मामासहित परिवार र मावली पक्षका ६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार आमा ३९ वर्षीया राजकुमारी राय यादव र मामा ३५ वर्षीय रामबाबु मण्डलसहित ६ जनालाई प्रतिवादी बनाई ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख (जिल्ला न्यायाधिवक्ता) नवराज पराजुलीका अनुसार आमा र मामा हत्यामा प्रत्यक्ष संलग्न भएको पाईएकाले उनीहरुविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गरिएको छ भने अन्य ४ जनालाई मतियार बनाईएको छ।
चाँदनीका बुवा ४० वर्षीय लालमनराय यादव, मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा ५४ वर्षीया बतासी मण्डल र माइजू जानकीलाई मुद्दामा मतियार बनाईएको छ। हत्यामा उनीहरुको सहमति देखिएको र शव ब्यवस्थापनमा सहभागि भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
मोरङ प्रहरीका एसपी नारायणप्रसाद चिमरियाका अनुसार बालिकालाई भारतको छपराबाट विराटनगर महानगरपालिका–५, विशाल चोक (कलेर्वा टोल) स्थित मावली घरमा ल्याएर हत्या गरिएको थियो। ११ माघको दिउँसो मामाघरकै एउटा कोठाभित्र घाटी थिचेर हत्या गरी रात परेपछि खाल्डो खनेर शव गाडिएको अनुन्धानमा खुलेको छ।
सडेर दुर्गन्धित भइसकेको अवस्थामा प्रहरीले १८ माघमा आरतीको शव उत्खनन गरी निकालेको थियो। अनुशन्धानका क्रममा चाँदनी करिब आफनै उमेर समुहका भारतीय बालकसँग प्रेम सम्बन्धमा थिईन। उनीहरुले भागेर बिहेसमेत गरेको खुलेको छ। त्यसपछि केटासँग छुटाएर चाँदनीलाई बुबाआमाले विराटनगर ल्याएका थिए। त्यसको भोलिपल्ट लालमन घर फर्किए भने आमाछोरी विराटनगमै बसे।
चाँदनीको हत्या भएपछि भने आमा पनि भोलिपल्टै घर गएको खुलेको छ। चाँदनीले प्रेमीलाई छोड्न अस्विकार गरेको र गाउँमा अन्य ब्यक्तिसँग मोवाईल मागेर प्रेमीसँग कुरा गर्ने गरेको खुलेको छ। सम्झाउने प्रयास गर्दा उनी त्यहाँबाट पनि भागेकी थिईन। त्यसपछि फर्काएर ल्याएपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लागेको छ।
मावलीमा भएकी चाँदनी एकाएक गायव भएपछि गाउँले मार्फत प्रहरीले घट्नाको जानकारी पाएको थियो। प्रहरीले अनुशन्धान गर्ने क्रममा हजुरबुवा सरयुगले सुरुमा नातिनी आफ्नै घर गएको बताएका थिए। भारत पुगेका बाबुआमासँग सम्पर्क गर्दा छोरी मावलीमै रहेको वताएपछि अनुसन्धान गर्दा शव फेला परेको थियो।
लालमन र राजकुमारीका २ छोरा र १ छोरी थिए।