भीम लामाको निर्देशन रहने फिल्म ‘पहिचान’मा पुराना अभिनेत्री करिश्मा मानन्धरको इन्ट्री भएको छ । आज शुक्रबार काठमाण्डौमा निर्देशक लामाले करिश्मा मानन्धरसँग कागजी सम्झौता गरेका छन् । यस्तै, उनले कलाकार रोशन शर्मासँग पनि सम्झौता गरेका छन् । कोशी प्रदेशको इटहरीलाई कर्मथलो बनाएर लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा लामाले योगदान दिइरहेका छन् ।
यही फिल्मबाट एक समयका लोकप्रिय अभिनेता धिरेन शाक्यले नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनलाई केही साताअघि लामाले कागजी सम्झौता गरिसकेका छन् भने वरिष्ठ अभिनेता प्रेम सुब्बालाई समेत प्रमुख भूमिकाको लागि कागजी सम्झौता गरिएको छ । फिल्ममा नृत्य निर्देशकको रूपमा मणि कुमार लिम्बु र सानुराजा थेगिम लिम्बुलाई अनुबन्ध गरिएको छ । यस्तै, यही फिल्मका लागि निर्देशक लामाले चर्चित खलनायक तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पनि हालै अनुबन्ध गरेका छन् ।
अन्य कलाकारहरूलाई समेत निरन्तर अनुबन्ध गर्दै जाने निर्देशक लामाको योजना रहेको छ । नेपाली समाजमा जातीय पहिचानको महत्त्वपूर्ण विषयवस्तु उठान गर्दै ‘पहिचान’ निर्माण गर्न लागेका भिम लामाले यसअघि स्थानीय तामाङ जातिको संस्कृति र परम्परालाई समेटेर ‘लीलामे माइला’ निर्देशन गरेका थिए । यस्तै, उनले २०६६ सालमा ‘माटो’ निर्माण गरेका थिए, जसमा महानायक राजेश हमालको अभिनय रहेको थियो । साथै, ‘नासो’, ‘गोल’ र ‘फेक फ्रेण्ड’ जस्ता फिल्म लामाले यसअघि निर्माण तथा निर्देशन गरिसकेका छन् ।
१ करोड लागत लाग्ने यो फिल्म ‘पहिचान’ लाई फागुन १८ गतेबाट कोशी प्रदेशको विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिने लामाको योजना रहेको छ । यो फिल्ममा करिश्मा, धिरेन, राजेन्द्र, प्रेम, रोशनसँगै रामजी बिष्ट, छिरिङ लामा, बिरु लामा, गङ्गा कुवर, दिलु सुब्बा, नव नायिका जेनि तामाङ, शर्मिला राईको समेत अभिनय रहने छ । फिल्मका लागि आवश्यक अन्य कलाकारहरू समेत छनोट प्रक्रियामा रहेको निर्देशक लामाको भनाइ छ । फिल्मको निर्माण टोलीमा भिम लामासहित रामजी विष्ट, छिरिङ लामा र उमेश तामाङ (रोमियो लामा) रहेका छन् । निर्देशक लामाका अनुसार फिल्मले जातीय पहिचानका विविध पक्षहरू उजागर गर्दै समाजमा सकारात्मक सन्देश दिने लक्ष्य राखेको छ ।