काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। सोमबार थप एकजना पक्राउ परेका छन्।

झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राईलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले राईलाई शान्तिनगरबाटै पक्राउ गरिएको बताए। उनलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको छ।

यसअघि हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई हाल जिल्ला काठमाडौं सुर्यदर्शन हाईट बस्ने वर्ष ३२ को महेन्द्र पाण्डे भन्ने महानन्द जैसी र दोलखाको तामाकोशी गाउँपालिका– १ घर भई ललितपुर महालक्ष्मी– ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २ माघमा काठमाडौँ जिल्ला अदालत बाहिर त्रिपाठीमाथि कुटपिट भएको थियो। उनले रास्वपा सभापति लामिछानेलाई ठगी मुद्दामा धरौटीमा छोडेको दिन उनको विपक्षमा बहस गरेका थिए।

त्रिपाठीमाथि कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया