नवलपरासी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा पर्ने दुम्किवासको विनय खोलाको पुल भारतीय लहरी ट्रकको ठक्करबाट भाँचिएको छ।
भारतीय नम्बरको एनएल ०१ ए एच ५१७९ नम्बरको लहरी ट्रकले शुक्रबार साँझ साढे ५ बजे ठक्कर दिएपछि पुल भाँचिएको हो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी जेसी शाहका अनुसार पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।
सयौं सवारी जाममा परेका छन्। बुटवल नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्नेमा लामो समय जाममा पर्ने समस्या भोगिरहेका यात्रुले पुल भाँचिएपछि फेरि लामो समय जाममा वस्नुपर्ने अवस्था बनेको छ।
वैकल्पिक सडक नभएकाले पुल नजिकै डाइभर्सन बनाएर मात्र यातायात सञ्चालनमा आउने छ। नवलपुरका सीडीओ अरुण पोख्रेलले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको बताए।