काठमाडौं, असार २३ — लिम्बू भाषाको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक गरिएको छ। गीतको भिडियो धिमाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, जसमा लिम्बू संस्कृति र पहिचान झल्किने दृश्य र भावहरू समावेश गरिएको छ।
गीतमा यासेली योङ्हाङ र असित थेगिमको शब्द रहेको छ भने संगीत उत्तम जंग लावतीले भरेका छन्। भिडियोको निर्देशन चर्चित गायिका तथा निर्देशक मेचु धिमालले गरेकी हुन्।
भिडियोमा सागर केरुङ, मेचु धिमाल, सडज सम्बाहाङ्फे, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नितुरानी नेम्बाङ, नुमा लिङ्देन, ज्योती लिम्बु, र मनु पाहिमलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
मेचु धिमाल, The Voice of Nepal सिजन २ की सेमीफाइनलिस्ट समेत हुन्। उनले यसअघि ‘सथिक मेबोक्से’ लगायत थुप्रै लिम्बू र धिमाल भाषाका गीतमा स्वर दिइसकेकी छन्। ‘आदाङ्बे सेवारो’ उनको तेस्रो लिम्बू भाषाको गीत हो।
डेढ दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय मेचुले दुई सयभन्दा बढी गीतहरूमा स्वर दिएकी छिन्। उनले नेपाली सांगीतिक मञ्चहरूमा निरन्तर उपस्थित रही सांगीतिक विविधता र जातीय भाषाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएकी छन्।
यस गीतमार्फत लिम्बू भाषाको मौलिकता, प्रेमभाव र सांस्कृतिक गाथालाई नयाँ पुस्तासमक्ष पुर्याउने प्रयास गरिएको निर्देशक धिमालको भनाइ छ।





























































