शनिबार राति भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव परीक्षणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने भएको छ।

घटनास्थलबाट आइतबार भोजपुर जिल्ला अस्पताल ल्याइएको शवलाई ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएपछि धरान पठाउन लागिएको हो। सामूहिक हत्याको घटना भएकाले अनुसन्धानको लागि फरेन्सिक जाँच रिपोर्ट आवश्यक पर्ने भएकाले सोमबार बिहान धरान पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।

भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले १५ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासु मञ्जु गिरी र १० वर्षीय साला सपन गिरीको हत्या गरेको प्रहरीले जनाएको छ। चार जनाको हत्यापछि अभियुक्तले नै घटनाको विषयमा प्रहरीलाई जानकारी गराएका थिए।

भोजपुर घटना: १४ वर्षमा प्रेम विवाह, बुवा-आमाले पठाउन नमानेपछि सामूहिक हत्या

हत्यामा संलग्न राई घाइते रहेकाले थप उपचारका लागि धरान रेफर गरिएको अस्पतालले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

चार छोरा र दुई छोरी रहेका गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका थिए। घरमा रहेका चारै जनाको हत्या भएको हो।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाले सहयोगका लागि अपिल गरेको छ।

तपाईको प्रतिक्रिया