काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानसँगकाे खेल नेपालले जित्नैपर्ने बताउनुभएको छ ।

एएफसी महिला एशियन कप छनोट २०२६ अन्तर्गत घरेलु टाेली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नुअघि नेपाली टाेलीसँग भर्चुअल माध्यममार्फत कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जीतको शुभकामना दिनुभएको हो । उहाँले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरूको मनोबल र मानसिकता पनि जित्ने किसिमको नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो खेल नेपालले जित्नैपर्छ । तपाईंहरूले मनोबल र मानसिकता जित्ने नै देखेको छु । म खुशी व्यक्त गर्न चाहन्छु । खेलको क्षेत्रबाट तपाईंहरूले ४० वर्षको इतिहासलाई एउटा उचाइमा पुर्‍याएर नेपालको खेल क्षेत्रको गौरव थप्नुभएको छ । नेपालको प्रतिष्ठा र परिचय वृद्धि गर्नुभएको छ । फुटबल खेलतर्फ नेपालको मात्र नभई बाहिरसम्मको ध्यान खिच्नुभएको छ । हामी तपाईंहरूको खेलसँगै हुनेछौँ ।’

नेपाल र उज्वेकिस्तानबीचकाे खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा राति सवा ९ बजे शुरू हुनेछ । समूह ‘एफ’ मा रहेको नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । उज्वेकिस्तान समान खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

आज हुने सूमह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ । पछिल्लो फिफा वरीयतामा नेपाल सयौं स्थानमा छ भने उज्वेकिस्तान ५१औं स्थानमा छ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो । यस्तै उज्वेकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० गोलले हराएको थियो ।

दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् । यदि फाइनल खेलमा अङ्क र गोल अन्तर पनि बराबर भएमा एएफसी महिला एशियन कप प्रतियोगिताको नियमावली अनुसार सीधै पेनाल्टी शुटआउट हुनेछ ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

तपाईको प्रतिक्रिया