विराटनगर । विराटनगरमा रहेको प्रतिष्ठित एभरेष्ट बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्तिर्ण हुने १७१ जना विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई भव्य कार्यक्रमको आयोजना गरेर अभिनन्दन गरेको छ । मंगलवार आयोजित यो विशेष कार्यक्रममा विद्यालयले आफ्ना सफल विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्दै उनीहरूका अभिभावकहरूलाई पनि धन्यवाद ज्ञापन गरेको हो ।
एभरेष्ट स्कुलले यस वर्षको एसइइ परीक्षामा उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका दुई जना प्रतिभाशाली विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले पूर्ण ४.० जीपीए हासिल गर्न सफल भएका छन् । यो उपलब्धि विद्यालयका लागि गर्वको विषय बनेको छ ।
कुल १७१ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा सबैले उत्तिर्ण हुन सफल भएका छन् । यी मध्ये १३३ जना विद्यार्थीले ३.६१ देखि ४.० सम्मको उच्च जीपीए प्राप्त गरेका छन् भने बाँकी ३८ जना विद्यार्थीले ३.२१ देखि ३.६० सम्मको राम्रो जीपीए हासिल गरेका छन् । यो तथ्याङ्कले विद्यालयको शैक्षिक गुणस्तरको उच्च मापदण्डलाई प्रमाणित गर्दछ ।
अभिनन्दन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट बोर्डिङ स्कुलको शैक्षिक परम्परा र उपलब्धिहरूको विस्तृत चर्चा गरे । उनले एभरेष्ट विगत तीन वर्षदेखि एसइइमा उत्तिर्ण हुने विद्यार्थी र अभिभावकहरूलाई यस्तो अभिनन्दन कार्यक्रमको आयोजना गर्दै आएको बताए । प्रिन्सिपल पुरीले एभरेष्ट स्कुलको इतिहासलाई सम्झाउँदै भने, ‘हाम्रो विद्यालयले २०५७ सालदेखि एसएसली (हाल एसइइ) परीक्षामा सहभागिता जनाएको हो । त्यसयता हाम्रा विद्यार्थीहरूले निरन्तर उत्कृष्ट परिणाम ल्याउँदै आएका छन् । विद्यार्थीहरूले ४ जीपीए नै ल्याउनुपर्छ भन्ने कुरा नभएर महत्त्वपूर्ण कुरा गुणस्तरीय शिक्षा हासिल गर्नु हो ।’
प्रिन्सिपल पुरीले एभरेष्ट स्कुललाई एक स्थापित ब्रान्डको रूपमा उल्लेख गर्दै भने, ‘एभरेष्ट आफैंमा एक ब्रान्ड हो । कुनै वर्ष अचानक राम्रो र कुनै वर्ष बिग्रिने कुरा छैन । इतिहासकालदेखि गुणस्तरीय शिक्षा प्रदान गरेर एभरेष्टको छुट्टै ब्रान्ड पहिचान छ । हामी यसलाई निरन्तर कायम राखेर अगाडि बढ्नेछौं ।’
उनले यस वर्षको एसइइमा दुई जना विद्यार्थीहरूले ४ जीपीए ल्याएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि परिणाम कमजोर नहुने र एभरेष्टले आफ्नो ब्रान्डलाई कायम राखेर अगाडि बढ्ने कुरामा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल पुरीले अभिभावकहरूको भूमिकालाई महत्त्वपूर्ण मानेको बताए । उनले भने, ‘अभिभावकहरूको आफ्ना छोराछोरीप्रति ठूलो आशा र भरोसा हुन्छ । यो अभिनन्दन कार्यक्रम त्यही आशा र भरोसाको सम्मान स्वरूप हो ।’ उनले विद्यार्थीहरूको उत्साहजनक सहभागितालाई प्रशंसा गर्दै भविष्यमा पनि यस्तै उत्साहको अपेक्षा गरे ।
कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले एसइइमा उत्तिर्ण हुने सबै विद्यार्थीहरूलाई सफलताको शुभकामना दिए । उनले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सफलता प्राप्त गर्न प्रेरणा दिए ।

तपाईको प्रतिक्रिया