कोपनहेगन- किशोरहरूमा कन्डोम प्रयोगको अनिच्छाका कारण संसारभर यौनजन्य रोगहरू र अनिच्छित गर्भधारणको खतरा मौलाएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।
डब्लूएचको नयाँ रिपोर्टमा खासगरी युरोपेली मुलुकहरूमा किशोरहरू बीच असुरक्षित यौन सम्बन्धको उच्चदरको खुलासा गरिएको छ। युरोपका लागि डब्लूएचकोको क्षेत्रीय कार्यालयको एक रिपोर्टले उक्त खुलासा गरेको हो।
सन् २०१४ यता यौन सम्बन्ध बनाउन सक्रिय किशोरहरू बीच कन्डोमको प्रयोगमा व्यापक कमी आएको छ। र, असुरक्षित यौन सम्बन्धको दर चिन्ताजनक रूपमा बढेको छ।
त्यसबाट यौनजन्य क्रियाकलापबाट सर्ने रोगहरू र अनिच्छित गर्भधारणको जोखिम बढेको डब्लूएचओको रिपोर्टका उल्लेख छ। उक्त अध्ययनका लागि डब्लूएचओले स्कुले उमेरका २ लाख ४२ हजार किशोरलाई सहभागी गराइएको थियो। र, सन् २०१४ देखि २०२२ आठ वर्ष लगाएर रिपोर्ट तयार पारिएको थियो। त्यसका लागि ४२ मुलुकमा अध्ययन गरिएको थियो।
अध्ययनमा सामेल किशोरहरू अधिकांश १५ वर्षका थिए। र, १५ वर्षका किशोरहरू ज्यादा असुरक्षित यौन सम्पर्कमा इच्छुक पाइएको थियो।
यौनजन्य क्रियाकलापबाट सर्ने रोग र अनिच्छित गर्भधारण मात्र होइन, असुरक्षित गर्भपतनको दर पनि उच्च रहेको रिपोर्टले उल्लेख गरेको छ। उक्त उमेरका किशोर-किशोरीमा यौन स्वास्थ्य शिक्षा र गर्भनिरोधक विधिहरूको पहुँच एकदमै कमजोर देखिएको रिपोर्टमा उल्लेख छ।
रिपोर्टले सुरक्षित यौन व्यवहारलाई बढावा दिन व्यापक हस्तक्षेपको आवश्यकता औंल्याएको छ। युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक डा. हेन्स हेनरी पी क्लगले उक्त रिपोर्ट निराशाजनक भए पनि आश्चर्यजनक नभएको बताए। र, त्यस नकारात्मक परिणामबाट पाठ सिकेर तत्काल र निरन्तर कारवाहीको आवश्यकता उनले औंल्याएका छन्।
२०१४ देखि २०२२ सम्ममा अन्तिम सम्भोगमा कन्डोमको प्रयोग गरेका किशोरहरू ७० बाट ६१ प्रतिशतमा झरेको पाइएको छ। अन्तिम सम्भोगमा कन्डोम प्रयोग गरेका किशोरीहरू पनि ६३ प्रतिशतबाट ५७ प्रतिशतमा झरेका छन्।
यस्तै, लगभग एक तिहाइ किशोरहरू (३० प्रतिशत)ले अन्तिम सम्भोगमा न कन्डोम प्रयोग गरेको पाइयो, न त गर्भनिरोधक गोली नै उपयोग गरेको पाइयो।
सामाजिक-आर्थिक अन्तर केलाउँदा धनी परिवारका किशोरहरूले कन्डोमको प्रयोग कमै गर्ने गरेको पाइएको छ। रिपोर्टका मुख्य लेखक गलवे विश्वविद्यालयका डा. एन्ड्रस कोल्टोका अनुसार यसबीचमा यौन शिक्षा लगभग बन्द गरिएको पाइएको छ। र, त्यस्तो शिक्षालाई नितान्त जानकारीभन्दा अगाडि बढाउनुपर्ने देखिएको छ।