कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। विराटनगरमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।
भेटघाटका अवसरमा आपसी हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको कामका विषयमा राजदूत चेनलाई जानकारी गराएका थिए ।
कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्न पनि राजदूत चेनलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे । उनले किमाथांका जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
सो अवसरमा राजदूत चेनले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए । उनले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरणका विषयमा चासो राखेका थिए । राजदूत चेनले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो राखेका थिए ।
चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ। नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उनको जोड थियो।
केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा रहेका चेनले इलाम लगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रम निरीक्षण गरेका छन् ।