विराटनगर — प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पितृशोकमा परेका छन्। उनका पिता रामचन्द्र पोखरेलको ८८ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो। विराटनगर–८, मधुमारास्थित आफ्नै निवासमा उनी अचानक अस्वस्थ भई निधन भएको परिवारले जनाएको छ।

सामान्यतया हिँडडुल गर्दै आएका पोखरेल साँझ अचानक अस्वस्थ भएपछि परिवारले एम्बुलेन्स बोलाए पनि अस्पताल लैजान नपाउँदै निधन भएको वडा नं ८ का वडाध्यक्ष राम पोखरेलले जानकारी दिए।
“हजुरबा दिउँसोसम्म सामान्य हुनुहुन्थ्यो। साँझ बिरामी हुनुभयो भन्ने खबर पाएँ। एम्बुलेन्स आउनु अघि नै उहाँ बितिसक्नुभएको रहेछ,” वडाध्यक्ष पोखरेलले भने।

रामचन्द्र पोखरेलका जेठा छोरा ऋषिकेश पोखरेल हाल प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका सभापति छन्। उनका अर्का छोरा फडिन्द्र पोखरेल र दुई छोरीहरू पनि छन्। सभापति पोखरेल बुधबार बिहान काठमाडौं गएका थिए। बुबाको निधनको खबर पाएपछि उनी विराटनगर फर्किरहेका छन्।

स्व. पोखरेलको अन्तिम संस्कार बिहीबार बिहान साढे ११ बजे विराटनगरको हाटखोलास्थित परम विश्रान्ति श्मशानघाटमा गरिने परिवारले जनाएको छ। परिवार, आफन्तजन, इष्टमित्र र स्थानिय समाजमा उनको निधनले शोक छाएको छ।

तपाईको प्रतिक्रिया