प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आगामी जेठ २४ गते काठमाडौंमा हुने भएको छ।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आगामी शनिबार महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुन लागेको हो। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उक्त प्रतियोगिताका खेलहरू आयोजना हुनेछन्। प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा स्थापित सामाजिक संस्था प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

देशभरबाट करिब एक सय महिला र पुरुष खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। प्रतियोगितामा पुरुषतर्फ पाँच समूह र महिला खुला तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ। पुरुषमा ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

महिलामा भने खुला तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। पुरुषमा प्रत्येक समूहका विजेताले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार तथा चौथो र पाँचौं हुने खेलाडीले क्रमशः २० हजार र १० हजार नगद प्राप्त गर्नेछन्।

महिला खुलातर्फ विजेताले एक लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथो स्थान हासिल गर्नेले २० हजार र पाँचौं हुनेले १० हजार नगदसहित ट्रफी पाउनेछन्। प्रत्येक तौलसमूहका विजेताबीच प्रथम मिस्टर प्रज्ञा स्मृतिको उपाधिका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। मिस्टर प्रज्ञालाई दुई लाख ५० हजार रूपैयाँ, ट्रफी र ब्यानरसहित सम्मान गरिने भएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख १० हजार रहेको छ।

आयोजकका अनुसार ३५ लाख ३५ हजार अनुमानित खर्च हुनेछ। प्रतिष्ठानले भरतपुरमा तीन संस्करणसम्म साइक्लिङ प्रतियोगिता सम्पन्न गरिसकेको छ। यस प्रतियोगिताले शारीरिक सुगठनजस्तो अनुशासनात्मक र कलात्मक खेलको विकास र प्रवर्धन गर्दै स्वास्थ्य, आत्मविश्वास र समग्र खेल विकासमा योगदान दिने आयोजकले विश्वास लिएको छ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद् बागमती (हेटौंडा), नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा यो प्रतियोगिता हुन लागेको हो।

तपाईको प्रतिक्रिया