पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार गत असोजदेखि जेठ ४ गतेसम्म यो क्षेत्रभित्र यति धेरै पर्यटकले मृत्यु भएको हो।

जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार अधिकांश पर्यटकको मृत्यु लेक लाग्ने, मुटुसम्बन्धी समस्या तथा प्रतिकूल मौसमका कारण भएको छ। मृत्यु हुनेमध्ये जापान, अष्ट्रेलिया, भारत, सिङ्गापुरका दुई–दुई जना तथा रोमानिया, चीन, बेल्जियम, मलेसिया र फिलिपिन्सका एक–एक जना छन्। उनीहरूको उमेर ३० देखि ६५ वर्षको बीचमा छ। जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोवत कुँवरका अनुसार मृत्यु भएकामध्ये छ जना हिमाल आरोहणका क्रममा ज्यान गुमाएका छन्।

सगरमाथा आरोहणका क्रममा भारत र फिलिपिन्सका एक–एक जना पर्यटकको मृत्यु भएको छ भने ल्होत्सेमा भारत र रोमानियाका आरोहीले ज्यान गुमाएका छन्। मेरा पिकमा एक बेल्जियमका नागरिक तथा आमादब्लम आरोहणका क्रममा एक अष्ट्रेलियन नागरिकले ज्यान गुमाएका छन्।

खुम्बु क्षेत्र : सौन्दर्य र चुनौती
खुम्बु क्षेत्र विश्वभरका पर्यटकका लागि एक सपना गन्तव्य हो। सगरमाथासहित ल्होत्से, नुप्त्से, आमादब्लम, थामसेर्कु, खाङ्तेगा, चोयुजस्ता हिमालले यहाँको प्राकृतिक सौन्दर्य झन् मनमोहक बनाएको छ। साथै, यहाँका गाउँबस्ती, शेर्पा समुदायको संस्कृति, उनीहरूको धार्मिक आस्था तथा हिमाली जीवनशैली पर्यटकलाई आकर्षित गर्ने प्रमुख कारक हुन्। सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत छ।

हरेक वर्ष हजारौँ पर्यटक यहाँ घुम्न आउँछन्। तर, खुम्बु क्षेत्र चुनौतीपूर्ण पनि छ। लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो तथा अन्य स्वास्थ्यसम्बन्धी समस्याले पर्यटकले ज्यान गुमाउने गरेको सगरमाथा आरोही विजय विश्वकर्माले बताएका छन्। उनले आफ्नो अनुभव साझा गर्दै भने, ‘हिमाल घुम्नु जति आनन्ददायक छ, त्यति नै चुनौतीपूर्ण पनि छ। यही सिजनमा सगरमाथा आरोहण गर्दा म आफैं पनि दुर्घटनामा परेँ। तेस्रो शिविर माथिबाट खसेको बरफको डल्लाले मेरो टाउकामा आठ टाँका लगाउनुपर्‍यो।’

पर्यटन व्यवसायीहरूले प्रत्येक पर्यटकीय याम सुरु हुनुअघि स्वास्थ्य परीक्षण, उचाइमा हिँड्न आवश्यक तालिम तथा सचेतना कार्यक्रम अनिवार्य गर्नुपर्ने माग राख्दै आएका छन्। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार, पर्यटकहरूका लागि आवश्यक पूर्वतयारी, स्वास्थ्य परीक्षण, योग्य पथप्रदर्शकको भूमिका, आवश्यक पूर्वाधारको उपलब्धता, हेलिकप्टर उद्धार प्रणालीको मजबुतीकरण, सही मौसम पूर्वानुमान तथा जोखिम न्यूनीकरणका उपायहरू थप प्रभावकारी बनाउन आवश्यक छ।

सगरमाथाका कान्छा आरोही तेम्बा छिरी शेर्पाका अनुसार खुम्बु क्षेत्रमा आउने पर्यटकहरू प्राय: ‘हाइ अल्टिच्युड’ का कारण समस्यामा पर्ने गरेका छन्। पर्यटकका लागि अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था, वातावरणीय सचेतना तथा स्थानीय प्रशासनको प्रभावकारी समन्वय अति आवश्यक छ। रासस

तपाईको प्रतिक्रिया