काठमाडौं, २०८२ जेठ १४ । काठमाडौं घुम्न आएका बंगलादेशी नागरिकहरूलाई सस्तोमा काठमाडौं घुमाइदिने प्रलोभन देखाई बन्धक बनाई मानसिक तथा शारीरिक यातना दिइएको घटना सार्वजनिक भएको छ। ललितपुर महानगरपालिका–१५ स्थित एक निजी घरमा उनीहरूलाई बन्धक बनाएर नगद, मोबाइल लुटपाट गरिएको र उनीहरूका आफन्तसँग सामाजिक सञ्जाल ‘व्हाट्सएप’मार्फत फिरौती रकम मागिएको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले कारबाही थालेको छ।
प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको विशेष टोलीले अनुसन्धान गर्दै फिरौती माग्ने गिरोहमा संलग्न भारतीय नागरिकहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केही ललितपुरमा बसोबास गर्दै आएका थिए।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपीलराज बोहराका अनुसार, पक्राउ परेका भारतीय नागरिकहरूमा दिल्लीका शिव सौरभ, पञ्जाबका दीपक कुमार, संदीप कुमार, जसप्रीत सिंह र कानपुरका रमेश जाधव रहेका छन्। उनीहरू सबैले ललितपुरमा डेरामा बसेर यस्तो आपराधिक गतिविधि संचालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडित बंगलादेशी नागरिकहरूलाई यातना दिँदै उनीहरूका परिवारलाई ‘फिरौती’ माग गरिएको प्रमाणहरू प्रहरीको अनुसन्धानबाट फेला परेको छ। अनुसन्धानका क्रममा लुटिएको मोबाइल, नगद रकमसहित आपराधिक गतिविधिमा प्रयोग भएको सामग्रीहरू पनि बरामद गरिएको प्रहरीको दाबी छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध अपहरण, फिरौती माग, शारीरिक तथा मानसिक हिंसा, र चोरीजस्ता अभियोगमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकामा पर्यटक लक्षित आपराधिक गिरोह सक्रिय रहेको आशंका प्रहरीको छ। यस घटनाले राजधानीमा विदेशी पर्यटकहरूको सुरक्षामा प्रश्न उठाएको छ। पर्यटकहरूलाई आकर्षक प्रस्ताव देखाएर फसाउने, बन्धक बनाउने र आर्थिक शोषण गर्ने प्रवृत्तिमाथि कडा निगरानी र कारबाहीको आवश्यकता रहेको सुरक्षा विज्ञहरूको भनाइ छ।
प्रहरीले पीडित बंगलादेशी नागरिकहरूलाई सुरक्षित अवस्थामा राखेको छ भने घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको बताएको छ।
– साँघु न्यूज डटकम